Saturday, March 23, 2013

दूध उत्पादनले छोएन पर्साका किसानलाई


रवि दाहाल–
वीरगन्ज,१० चैतः गाउँ गाउँमा दूध चिस्यान केन्द्र नहुँदा पर्याप्त सम्भाव्यताका बावजुद पर्साका किसान दूध उत्पादनतर्फ आकर्षित हुन सकेका छैनन् । पशुपालनबाट उत्पादित दूध उपभोग नभएसम्म भण्डारण गर्न चिस्यान केन्द्र र बजारसम्म पु¥याउन विशेष किसिमको ढुवानी साधन आवश्यक पर्छ ।
८२ गाविस र एक उपमहानगर रहेको पर्सामा सार्वजनिक पहुँचमा जम्मा दुईवटा चिस्यान केन्द्र छन् । पायक पर्ने दूरी र स्थानमा दूध चिस्यान केन्द्र नहुँदा किसानले घर घरमा उत्पादन गरेको दूध खेर फ्याक्नुपर्ने समस्या रहेको छ । चिस्यान केन्द्रको स्थापनाले किसानलाई दूध बिक्री गर्न र थप उत्पादनका लागी समेत प्रोत्साहन मिल्ने उद्योगी श्यामवदन यादवले बताए ।
दुग्ध विकास संस्थानको हेटौंडास्थित क्षेत्रिय कार्यालयले पर्साका किसानलाई दूध उत्पादनका लागी प्रोत्साहन गर्न थालेको छ । संस्थानले गादी गाविसमा दूध संकलन केन्द्र सञ्चालनमा ल्याएर  श्रीपुर पँचगावा, सखुवा प्रसौनी, गादी, रंगपुर, सोनवर्षा, पटेर्वा सुगौलीका किसानलाई दूध उत्पादन गर्न हौस्याएको छ । गादी दूग्ध उत्पादन सहकारी संस्थामार्फत् सञ्चालनमा ल्याएको यो संकलन केन्द्रमा दैनिक एक हजार लिटर दूध संकलन गर्ने लक्ष्य रहेको संस्थाका सचिव प्रेम पौडेलले बताए ।
यसअघि गत असोजदेखि बिरुवागुठी गाविसमा संस्थानकै ३६ लाख रुपैयाँको लगानीमा २ हजार ५ सय लिटर क्षमताको चिस्यान केन्द्र सञ्चालनमा रहेको छ । विरुवागुठी चिस्यान बागवाना, हरपुर, मधुवन मथवल, गादी र सखुवाप्रसौनी गाविसका किसान लाभान्वित भएको स्थानीय उद्धार दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष प्रभु प्रसाद गुप्ताले बताए । 
सामुदायीक लगानीमा स्थापित पाँच सय लिटर क्षमताको पोखरिया चिस्यान केन्द्रले पोखरिया, बसन्तपुर, लंगडी, मुडली, धोरे,तुलसीबर्वा, बिरञ्चीबर्वा गाविसका किसानसँग दूध संकलन गरिरहेको छ  ।किसानलाई दूध उत्पादनतर्फ आकर्षित गर्नका लागी सरकारी र निजी क्षेत्रबाट चिस्यान केन्द्र र डेरी उद्योग सञ्चालनमा ल्याइए पनि किसानलाई आवश्यक सहयोग पुग्न नसकेको अगुवा कृषकको गुनासो छ।
धोरे गाविसमा नेदरल्याण्डको पर्पल फिल्ड इन्भेष्टमेन्टसँगको संयुक्त लगानीमा यूवा उद्योगी श्यामवदन यादवले २० हजार लिटर क्षमताको दूध प्रशोधन उद्योग सञ्चालनमा ल्याएका छन् । उनको उद्योगले पर्सा,बारा,सर्लाही र सीमावर्ती भारतका किसानसँग दूध संकलन गरिरहेको छ ।  अहिले आवश्यक्ताको अनुपातमा २५ प्रतिशत पनि दूधको आपूर्ती हुन सकेको छैन, उनी भन्छन्, किसानलाई  सुधारिएको नश्लका गाईभैंसी उपलब्ध गराउने प्रयास गरेपनि विदेशबाट गाईभैंसी भित्र्याउन असम्भव झैं छ । सुधारिएको नश्लका गाईभैंसी भारतबाट ल्याउने प्रयास गरेपछि कृषी मन्त्रालयबाट स्वीकृतीका लागी पुरा गर्नुपर्ने झण्झटिलो प्रकृयाका कारण लगानीकर्ताले इच्छाएर पनि यसको कार्यान्वयन हुन सकेको छैन ।

तस्वीरमा इतिहास कोट्याउँदै

रवि दाहाल
वीरगन्ज,४ चैतःभित्तामा लहरै सजाइएका पुराना तस्वीर केही बोल्न खोज्दैछन् । तस्वीर सामू उभिने जो कोहीपनि तस्वीरले दोहो-याउन खोजेका इतिहास उत्सुकतापूर्वक जान्न खोज्दैछन् ।
आफ्नै नगरको पाँच दशक पुरानो इतिहास पुराना तस्वीरका माध्यमबाट थाहा पाउँदा सम्पन्न विगत सम्झेर अवलोकनकर्ताहरु दंग थिए ।
दुईवर्षदेखि नेपालमा पुराना तस्वीरको संग्रह गर्दै आएको नेपाल पिक्चर्स ग्यालेरीले वीरगन्जवासीको घरका भित्तामा र एल्बममा सजाइएका पुराना तस्वीर संकलन गरेर सार्वजनिक प्रदर्शनीमा राखिदिएपछि नयाँ पुस्ताले विगत जान्ने अवसर पाए । अनि बुढापाकाहरु विगतको झझल्को सम्झिंदै हर्षित भए ।

तीन महिनासम्म सञ्चालन हुने प्रदर्शनीमा चार दशकभन्दा पुराना १५ वटा तस्वीर राखिएका छन् ।रौतहटको राणा परिवारकी एक यूवती सन्ध्या शाहले आफ्नो जवानीमा उपभोग गरेको स्वतन्त्रता र भारतीय फिल्मकी नायीका मधुबालाको शैली पछ्याउँदै तस्वीर खिंचाउने लहरलाई  पनि प्रदर्शनीमा राखिएका तस्वीरमा समेटिएको छ ।
ग्यालेरीका कार्यकारी निर्देशक भूषण शिल्पकार भन्छन्,नेपाली फोटोका इतिहासमा जहिले पनि शाही वा राणा परिवारका मात्र चर्चा भए,अब आम नागरिकको हुनुपर्छ भनेर हामीले इतिहास खोतल्ने प्रयास गरेका हौं । 
पुराना तस्वीर संकलन र छनौटको काम जति सहज छ, तस्वीर अभिलेखनको काम जटिल छ । शिल्पकारकै शब्दमा तस्वीरको पृष्ठभूमीका बोकेका कथा खोतल्नु चुनौतीपूर्ण छ । राजधानीका शिक्षित तन्नेरीहरुको एउटा जमातले भर्खरै मुकुन्द बहादुर श्रेष्ठले खिंचेका नेपालको पर्यटन सम्बन्धी १२ हजार पुराना तस्वीर दुई वर्ष लगाएर पुरा गरेका छन् ।