Saturday, July 27, 2013
बर्खे विकासमा बजेट रित्याउँदै उपमहानगर
कर असुल्न नसक्दा आर्थिक संकट
छ वर्षदेखि बहाल नतिरी अस्पतालको सटर कब्जा
पूर्वाधार निर्माणसँगै निजी क्षेत्र आशावादी
गीति एल्मबको मूल्य २५ हजार!
कागजमै सीमित साक्षरता अभियान
रवि दाहाल
वीरगन्ज । हाम्रो टोलमा कहीं कतै साक्षरता कक्षा सञ्चालन भएको जानकारीमा छैन, वीरगन्ज–१२ मा अवस्थित अशोकवाटिका टोलमा रिपोर्टिङगका लागी पुग्दा स्थानीय ५० वर्षिया चन्द्रावती देवीले भनिन्,सञ्चालन भइ दिएको भए हामीले पनि अवसर पाउने थियौं ।
साझेदार संस्था तराई निजी वन उपभोक्ता संघका सामाजिक कार्यकर्ता दिपेन्द्र यादवले दिनमा तीन पटक साक्षरता कक्षा सञ्चालन हुने गरेको दाबी गरेपछि अन्नपूर्णकर्मी अशोकवाटिकामा अभियानको प्रभावकारीता सम्बन्धी रिपोर्टिङग गर्न पुगेपनि मिहीनेत खेर गयो । कक्षा सञ्चालन नभएकैका कारण दिपेन्द्रले बीस पटकभन्दा बढी उनको मोबाइलमा सम्पर्क गर्दा रिसिभ नगर्नुको कारणबारे बुझन् कठिन भएन ।
महिला कल्याण संस्थाका अध्यक्ष सरोज न्यौपानेले वडा नम्बर ७ मा अवस्थित वडा समितीको कार्यालयमा अपरान्ह ४ बजेदेखि साक्षरता कक्षा सञ्चालन भइरहेको दाबी गरेपनि अन्नपूर्णकर्मी पुग्दा वडा समितीको कार्यालयमा ताल्चा झुण्डिएको थियो (हेर्नुस् तस्वीर)। छेउकै वीरगन्ज फिजिकल फिटनेश सेन्टरका प्रशिक्षक सुनिल यादवले वडा समितीको कार्यालयमा मात्र नभएर आसपास कुनै पनि ठाउँमा साक्षरता कक्षा सञ्चालन नभएको बताए ।
१ सय ४० जनालाई अध्यापन गराउने सम्झौता गरेको आदर्श जनसेवा यूवा क्लबले वडा नम्बर ९ रेशमकोठीमा अवस्थित मेरी गोल्ड माविमा सञ्चालन गरेको कक्षामा दुईजना शिक्षिकाको सहयोगमा महिला र तन्नेरी सहित २५ जना मात्र अध्ययन गरिरहेको भेटिएको थियो । वडा नम्बर १० मा ३ सय २० जनालाई अध्यापन गराउने सम्झौता गरेको प्रकृती तथा मानव विकास केन्द्रको पनि गहवा र पानीटंकी टोलमा कक्षा सञ्चालन भएको भेटिएन । नगरका ४,५,११ नम्बर वडामा कक्षा सञ्चालनको जिम्मेवारी लिएका संस्थाको सम्पर्क व्यक्तिसँग टेलिफोन सम्पर्कमा जानकारी लिन खोज्दा सम्पर्क व्यक्तिहरुको मोबाइल स्वीच अफ थियो । सम्बन्धित टोलमा धाउँदा समेत कक्षा सञ्चालन भएको फेला पार्न सकिएन ।
बालुवामा पानी
जिल्लाका करिब बीस हजार अशिक्षितलाई साक्षर बनाउने लक्ष्यसहित सञ्चालन गरिएको साक्षर पर्सा अभियान बालुवामा पानी खन्याए सरह भएको छ । ६३ लाख रुपैयाँ खर्च गरेर सञ्चालन गरिएको साक्षरता अभियान जिल्ला शिक्षा कार्यालय र सामाजिक संघ संस्थाको मिलेमतोमा कागजमै सीमित हुन पुगेको हो । सदरमुकाम वीरगन्ज र ३२ गाविसमा साक्षरता कक्षा सञ्चालनका लागी सामाजिक संघसंस्थासँग शिक्षा कार्यालयले सम्झौता गरेपनि नगर क्षेत्रमा अन्नपूर्णकर्मीले गरेको स्थलगत अनुगमनका क्रममा ८० प्रतिशतभन्दा बढी स्थानमा कागजमै अभियान सीमित रहेको पाइएको छ ।
शिक्षा कार्यालय, पर्साले वैशाखदेखि तीन महिनाका लागी सञ्चालित अभियानमा १५–६० वर्ष उमेर समूहका कूल १८ हजार ५ सयलाई साक्षर बनाउने लक्ष्य रहेको जनाएपनि साक्षरताको अवसर पाउनेको संख्या ज्यादै न्यून छ । शिक्षा मन्त्रालयले पर्सा जिल्लामा यो अभियानका लागी सामाजिक कार्यकर्ताको पारिश्रमिकवापत ३८ लाख ८८ हजार र स्टेशनरी तथा पाठ्यपुस्तकवापत २३ लाख ८६ हजार पाँच सय रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।
आफन्त भर्ती केन्द्र
साक्षरता अभियानलाई जिल्ला शिक्षा कार्यालयका कर्मचारी र सामाजिक संघ संस्थाका अगुवाले आफन्तजनका लागी अस्थायी भर्ती केन्द्र सरह प्रयोग गर्दै आएका छन् । पर्सा जिल्लामा प्रति बीस विद्यार्थीमा एउटा सामाजिक कार्यकर्ताका दरले कूल ९ सय २५ जना शिक्षक नियुक्त गरिए पनि कक्षा कोठामा दैनिक उपस्थित भएर अध्यापन गराउने शिक्षकको संख्या एक सय नाघ्न पनि कठिन छ ।
प्रकृती तथा मानव विकास केन्द्रका अध्यक्ष राजकुमार सिंहले अभियान अन्तर्गत सामाजिक कार्यकर्ताको कोटामध्ये पचास प्रतिशत शिक्षा कार्यालयकै कर्मचारीको आफन्तजन भर्ती गर्नुपर्ने बाध्यता भएको बताए । कक्षा सञ्चालन गर्नुपर्दैन भन्ने सबैले राम्ररी बुझेका छन्,अध्यक्ष सिंहले भने,त्यही भएर भाई,बुहारी,छोरा,नाति जम्मैलाई तीन महिनाका लागी नियुक्तिका लागी सिफारिस गर्न हानाथाप हुन्छ ।
पुस्तकमा पनि अनियमितता
शिक्षा विभाग अन्तर्गतको अनौपचारिक शिक्षा केन्द्रले पाठ्य पुस्तकवापतको जनही ५४ रुपैयाँका दरले जिल्ला शिक्षा कार्यालयमार्फत् साझेदार संस्थालाई एकमुष्ठ अनुदान उपलब्ध गराएको छ ।
पुस्तकवापतको रकम लिए पनि साझेदार संस्थाले विद्यार्थीहरुको हातमा पुस्तक पु¥याएका छैनन् । पुस्तक वापतको रकम साझेदार संस्था र जिशिकाको कर्मचारीको मिलेमतोमा दुरुपयोग गरिएको पुष्टी यसबाट सहजरुपमा हुन्छ ।
साझेदार पाठ्यपुस्तक, मसलन्द र पारिश्रमिक वापतको रकम हामीले एकमुष्ठ सम्बन्धित साझेदार संस्थाको खातामा जम्मा गरिदिएका छौं,साक्षरता अभियानका संयोजक, सहायक जिल्ला शिक्षा अधिकारी रामविनय सिंहले भन्छन्,बजेटको प्रयोगमा हाम्रो कुनै भूमीका छैन ।सिंहले साझेदार संस्थाहरुको सहजताका लागी अनौपचारिक शिक्षा केन्द्रले उपलब्ध गराएको नमूना पुस्तकको दुई चार थान प्रत्येक संघसंस्थालाई वितरण गरिएको बताए ।
३२० विद्यार्थीको पुस्तकका लागी जनही ५४ रुपैयाँका दरले १७ हजार २८० रुपैयाँ कटौती गरिने शिक्षा कार्यालयका कर्मचारीले बताएका छन्,एउटा गैर सरकारी संस्थाका अध्यक्षले भने,तर हामीले जम्मा पाँच थान पुस्तक पाएका छौं, यत्ति सीमित पुस्तक कस्लाई बाँड्ने ?
अभियानप्रति उदासिनता
साक्षरता अभियानका लागी सरकारले लाखौं रकम खर्चिए पनि यस्को सञ्चालनका लागी शिक्षा कार्यालय र साझेदार संस्था दुबै गैर जिम्मेवाररुपमा प्रस्तुत भएका छन् ।
साझेदार संस्थाहरुका अध्यक्षलाई कुन कुन स्थानमा साक्षरता अभियानको कक्षा सञ्चालन भइरहेको छ भन्ने जिज्ञासा राख्दा पहिलो पटकमा अधिकांशले सम्बन्धित सामाजिक कार्यकर्तालाई सोधेर बताउँछु भन्ने जवाफ दिए । शिक्षा कार्यालयका जिम्मेवार कर्मचारीले पनि संघसंस्थाको प्रतिवेदन आएपछि मात्र अभियानको प्रभावकारीताबारे यकीन जानकारी दिन सकिने प्रतिकृया दिए ।
सामाजिक संघसंस्थाका अगुवाले यो अभियानमा सहभागीतावापत प्रत्यक्ष आर्थिक लाभ वा पुरस्कार नपाउने भएकाले यस्को सफलता, असफलतामा चासो नदेखाएको गैर सरकारी संस्था सामाजिक विकास अभियान नेपालका अध्यक्ष नरेश जयसवालको भनाई छ । उनी भन्छन््,नयाँ संस्थाले आफ्नो प्रगती विवरण तयार पार्न इमान्दारितापूर्वक कक्षा सञ्चालन गरेका छन्, पुराना जत्ति अधिकांशले झारा टार्ने काम मात्र गरेका छन् ।
स्कूलमा अध्ययनका लागी आउन निम्तो दिंदा शहरी गृहणीहरुले भत्ता पाए मात्रै पढ्न आउने प्रतिकृया दिएको सामाजिक कार्यकर्ता विनिता श्रेष्ठले सुनाईन् ।
सुधारको दाबी
स्थलगत अनुगमनका क्रममा साक्षरता अभियान सञ्चालनको अवस्था दयनीय भेटिए पनि जिल्ला शिक्षा कार्यालयले विगत वर्षको तुलनामा यसवर्ष अभियानको सञ्चालनमा सुधार आएको दाबी गरेको छ । देशैभर साक्षरता अभियान झण्डै असफल भएको अवस्था छ,जिल्ला शिक्षा अधिकारी हरिप्रसाद वस्तीले भने,पर्सामा विगतको तुलनामा अवस्था सुधारोन्मूख छ भन्ने रिपोर्ट आएको छ । लालपर्सा, महुवन, विजयबस्ती र सुवर्णपुर गाविसमा अभियान प्रभावकारी भएको शिक्षा कार्यालयको दाबी छ ।
भेटिएन पढ्ने भोक
रेशमकोठीमा अवस्थित मेरी गोल्ड माविमा सञ्चालन भइरहेको साक्षरता कक्षाको एकमात्र नियमित छात्रा हुन्, मुस्तरिम बानो । ४२ वर्षिय मुस्तरिमलाई आफ्नो श्रीमान् वैदेशिक रोजगारीका लागी कतार जानु अघि कहिल्यै अक्षर चिन्ने धोको भएन । उनी भन्छिन्,श्रीमान्ले विदेशबाट पठाएको रकम झिक्न जाँदा बैंकमा ल्याप्चे लगाउनु परेपछि बल्ल लाज लागेर आयो, अनि पढ्ने जाँगर लाग्यो ।
कखरा सिक्दै गरेकी मुस्तरिम अहिले बैंकमा रेमिट्यान्सको रकम झिक्न जाँदा आफ्नै हस्ताक्षर प्रयोग गर्छिन् । तीन महिनाको अवधी ज्यादै थोरै भए जस्तो लाग्छ, उनी भन्छिन्,अझै दुई चार महिना पढ्ने अवसर पाए किताबमा लेखिएका अक्षर फरर्र पढ्न सक्थे ।
सानै उमेरमा बिहे भएपछि पढ्ने अवसरबाट बञ्चित हुनु परेको सुनाउँदै अर्की छात्रा ४७ वर्षिया देवन्ती देवीले निरक्षर भन्दै नातिनातिनाले समेत हेप्न थालेपछि पढ्ने जाँगर पलाएको बताइन् । १८ असार २०७०