रवि दाहाल
वीरगन्ज,२३ असारः स्थानीय स्वायत्त शासन ऐनले दिएको अधिकारको प्रयोग गर्दै उपमहानगरपालिकाले राजश्व असुल्न नसक्दा अहिले आर्थिक संकट निम्तिएको छ । आर्थिक वर्षको अन्त्यको एक साता मात्रै बाँकी हुँदा समेत ठूला करदाताहरु यसवर्ष पनि कर तिर्न इच्छुक देखिएका छैनन् ।
कर असुल्ने जिम्मा लिएका ठेकेदार र स–सानो घरधुरी भएका सर्वसाधारण अहिले कर तिर्न लाम लागेपनि करोडौं मूल्यका सम्पत्ति भएका संस्था र व्यापारीले अटेर गरेका छन् । आम्दानीको श्रोत पर्याप्त भएपनि २०६२–६३ यता उमनपाले प्रभावकारीरुपमा राजश्व असुली गर्न सकेको छैन ।
नगर प्रमुख ताराबहादुर कार्कीले कर तिर्न आग्रह र ताकेता गर्दा व्यापारीले कर्मचारीलाई हेप्ने गरेको गुनासो गरे । उनले भने, नेशनल मेडिकल कलेजका सञ्चालकले हामी कर तिर्दैनौ,के गर्न सक्छौ गर भन्दै दादागिरी गरिरहेका छन् ।
राजश्व आम्दानीको प्रमुख श्रोतका रुपमा रहेको घरजग्गा कर शीर्षकमा १० करोड रुपैयाँभन्दा बढी बक्यौता छ । सबैभन्दा बढी नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले करिब एक दशकदेखि कर तिरेको छैन । उस्ले ७ करोड ६१ लाख रुपैयाँ तिर्न बाँकी रहेको राजश्व शाखा प्रमुख लालबाबु राउतले बताए । राजश्व शाखाका अनुसार नेशनल टे«डिङगले एक करोड ९४ लाख,नेपाल टेलिकमले १३ लाख, नेपाल बैंक लिमिटेड सिटी अफिसले ४ लाख ३२ हजार र नेपाल बैंक लिमिटेड भन्सार एरियाले २ लाख ८२ हजार रुपैयाँ तिर्न बाँकी छ ।
अधिकांश व्यवयायीले व्यवसाय करवापतको रकम बुझाएका छैनन् । सन् २०११ मा कोवाटर इन्टरनेशनल इन्क नाम परामर्शदातृ संस्थाले तयार पारेको अध्ययन प्रतिवेदनमा नगरमा ८ हजार व्यवसायी दर्ता भएपनि ६ सयले मात्र व्यवसाय कर तिरिरहेको उल्लेख गरिएको थियो ।त्यसयता व्यवसाय कर असुलीमा कडाई गर्दा अघिल्लो आर्थिक वर्षमा असुली बढेपनि अहिले पुनः असुली घटेको छ ।
राजश्व असुलीलाई तीब्रता दिन उमनपाले लामो समयदेखि कर बक्यौता राखेका संस्थालाई धमाधम पत्राचार गर्दै ताकेता शुरु गरेपनि अपेक्षित उपलब्धी हासिल नभएको राजश्व शाखा प्रमुख लालबाबु राउतले बताए ।
नेपाली काँग्रेस नगर सभापति महम्मद शहाबुद्दिनले कर असुलीका लागी ताकेता गर्दा पनि उपमहानगरका कर्मचारीले पक्षपात गरेको आरोप लगाए । उनले भने,जुन ठेकेदारले नियमितरुपमा किस्ता तिर्दै आएको छ, उसैको बैंक ग्यारेण्टी जफत गर्ने चेतावनी दिइन्छ, वर्षौदेखि किस्ता नबुझाउनेसित बैंक ग्यारेण्टी समेत मागिएको छैन ।
कर तिर्न अटेर गर्ने संस्थाको बैंक खाता रोक्काका लागी बैंकहरुमा पत्राचार गर्ने मनशाय बनाएका छौं,नगर प्रमुख ताराबहादुर कार्कीले भने,कुनै शीप नलागेपछि अब यही उपाय अपनाउने अवस्था आएको छ ।
२०७०
This is the true reality...
ReplyDelete